Friday, September 23, 2016

नयाँ बर्समा मेलम्चीको पानी खुवाउन प्रचण्डको निर्देशन

7:47 PM - No comments

७ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी नयाँ वर्षभित्र मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउन निर्देशन दिएका छन् ।
मेलम्चीको पानी दशैं अघि नै काठमाडौं ल्याउने सरकारको लक्ष्य थियो । तर, सो लक्ष्य भने पूरा नहुने भएको छ । दशैं आउन दुई हप्ताजति बाँकी छँदा प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री कार्यालयका सचिव र पार्टीका केही नेताहरुसहित शुक्रबार मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्न सिन्धुपाल्चोक पुगे ।
त्यहाँ आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘२०७३/७४ मा पुर्‍याउने भनेर मोटामोटी लक्ष्य निर्धारित भएको छ । मानिसहरुको अपेक्षा र मैले यहाँ हेर्दा पनि म आशावादी नै भएको छु । २०७४ को शुरुतिर यहाँको पानी काठमाडौं जान सम्भव छ ।’
उनले मेलम्चीको पानी काठमाडौं ल्याउन भइरहेको कामप्रति सन्तोष व्यक्त गरे ।
‘हुन त यहाँ मुख्य सचिव जीले दशैं अगाडि । मैले भन्न चाहेको चाहिँ नववर्षसँगै पुग्ने, कमसेकम काठमाडौं पानी पूरै जान नसके पनि आयो भन्ने बनाउन सम्भव छ भन्ने देखें मैले,’ प्रधानमन्त्री प्रचण्डले भने ।
मेलम्ची खानेपानी आयोजना २०५५ सालदेखि सुरु भएको थियो । सरकारको राष्ट्रिय गौरवको आयोजनाभित्र परेको यो मेलम्ची आयोजनाको कामको करिब सात किलोमिटर टनेल खन्न अझै बाँकी छ । पहाड काट्ने र रिजर्भर बनाउन पनि बाँकी छ ।
गुणस्तरीय कामसहित तोकिएको समयभित्रै काम सक्न उनले आयोजनाका पदाधिकारीहरुलाई निर्देशन दिए । छिटो काम सकिएमा सरकारले सम्मान गर्ने प्रचण्डले बताए ।
‘अहिले तोकिएको समयभन्दा केही महिना मात्रै भए पनि छिटो सम्पन्न गरियो भन्ने एउटा उदाहरण यहि मेलम्चीबाट हामी प्रस्तुत गरौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो बिल्कुल सम्भव छ । सबैले आ-आफ्नो ठाउँबाट मेहेनतलाई डबल बनाइयो भने तपाईंहरु सम्मानित हुने, पुरस्कृत हुने सम्भावना छ ।’
आयोजनाको काम छिटो सम्पन्न गर्न सरोकारवाला मन्त्रालय र विभागलाई निर्देशन दिने उनले बताए । यसको प्राथमिकतासाथ अनुगमन पनि गरिने प्रचण्डले बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले सम्वन्धित मन्त्रालय र विभागलाई यो कामलाई प्राथमिकता दिएर तदारुकताकासाथ अगाडि बढाउन निर्देशित गर्ने छु । म निर्देशितमात्र गर्ने होइन, अनुगमन पनि सँगसँगै गर्नेतिर म गैराख्याछु ।’

  • Share this post:

Recent Posts

0 comments :

E-mail Newsletter

Sign up now to receive breaking news and to hear what's new with our website!

back to top