Monday, September 14, 2015

हिन्दुवादीको नाममा झापा चर्चमा बम बिस्फोट

11:25 PM - No comments

२९ भदौ, काठमाडौँ  । सुनसरीको इटहरी निवासी श्रीनिवास आचार्य सोमबार दिउँसो नयाँबानेश्वरको एभरेष्ट होटल अगाडि भाषण गरिरहेका थिए । संविधान बनेको एक साताभित्र देशभरिका चर्चहरुमा धावा बोल्ने उनले भाषण ठोके ।

नेपालमा ०६३ सालपछि बनेका चर्चहरु तोडफोड गरिने श्रीनिवासले खुल्लमखुल्ला चेतावनी दिए ।
धार्मिक सहिष्णुता र सदभावमाथि खुलेआम चुनौती दिएका आचार्यको यो अभिव्यक्ति सभ्य समाजका लागि शोभनीय नभएकाले त्यसले मिडियामा ‘कभरेज’ पाएन । तर, आचार्यले चर्चामाथि धावा बोलिने बताएकै रात झापाको दमक र खजुरगाछीका चर्चहरुमा बम प्रहार भयो । सुरुङ्गाको चर्चमा राखिएको बम पड्कँदा मंगलबार बिहान तीन प्रहरी घाइते भए । उनीहरु अस्पताल भर्ना भएका छन् । झापाका विभिन्न चर्चहरुमा हिन्दुवादीका नाममा कसले बम राख्यो ? यो प्रहरीको अनुसन्धानबाट खुल्दै जाला । तर, नयाँबानेश्वर चोकमा उभिएर देशभरिका चर्चहरु ध्वस्त पार्ने अभिव्यक्ति दिने आचार्यलाई प्रहरीले पक्राऊ वा सोधपुछसम्म गरेको छैन ।
फेसबुकमा साम्प्रदायिक सदभाव विरोधी अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका आङकाजी शेर्पा धरौटीमा छुटेकै दिन आचार्यले बानेश्वर चौकमा उभिएर धार्मिक सहिष्णुता खल्बल्याउने साम्प्रदायिक भाषण गरेका हुन् । आचार्यको गतिविधि शंकास्पद सुनसरीको इटहरीमा अघिल्लो महिना भएको हिन्दुबादीहरुको प्रदर्शनमा भारतीय रअका अधिकारीसँग आचार्यको प्रत्यक्ष संलग्नता रहेको मोरङ र सुनसरीको प्रशासनले पत्तो लगाएको थियो । आचार्यको अगुवाइमा इटहरीमा भएको प्रदर्शनमा भारु पैसाको प्रयोग भएको, बिराटनगरको जेनियल होटलमा केही दिन बसेका रअका अधिकारी आरके सिंहसँग सम्पर्क हुने गरेको र काठमाडौंका एकजना पूर्वसैनिक अधिकारीसँग फोन सम्पर्क हुने गरेको भन्दै पूर्वाञ्चल प्रहरीले आचार्यको गतिविधिमाथि निगरानी बढाएको थियो ।

 धर्मका नाममा हुने हिंसालाई हाम्रो समर्थन छैन : राप्रपा नेपाल

यसैवीच राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने कुनै पनि अभिव्यक्ति वा कार्यप्रति राप्रपा नेपालको समर्थन नरहने बताए । ‘सोमबार बानेश्वरको प्रदर्शनमा राप्रपा नेपालको पनि सहभागिता थियो, तर आचार्यले चर्चमाथि धावा बोलिन्छ भनेर दिएको अभिव्यक्तिप्रति राप्रपा नेपालको कुनै समर्थन छैन,’ ‘श्रेष्ठले  भने- ‘हामीले सबै धर्मप्रति सदभाव र धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्दै आएका छौं, चर्चमाथिको आक्रमणमा हाम्रो समर्थन रहँदैन ।’ सोमबार बानेश्वरमा आयोजित संयुक्त धार्मिक सभामा स्वामी कमलनयानाचार्यका तर्फबाट श्रीनिवास आचार्यले सम्बोधन गरेका थिए । त्यहाँ कमलनयनाचार्यले भाषण गरेनन् । कमल थापाको पार्टी राप्रपा नेपालका तर्फबाट राजेन्द्र लिङदेन बोलेका थिए । प्रहरीले पानीको फोहोरा र लाठीचार्ज गरेको केहीबेरपछि हिन्दुवादीहरुको सभा भएको थियो, जहाँबाट श्रीनिवासले चर्चहरुमाथि धावा बोलिने चेतावनी दिएका थिए ।

  • Share this post:

Recent Posts

0 comments :

E-mail Newsletter

Sign up now to receive breaking news and to hear what's new with our website!

back to top